माननीय निशा मेहता २७ मार्च २०२६ देखि नेपाल सरकारको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रीका रूपमा कार्यरत हुनुहुन्छ। स्वास्थ्य क्षेत्रको शिक्षा, सेवा, अनुसन्धान तथा प्रशासनमा लामो अनुभव हासिल गर्नुभएको उहाँ नर्सिङ पेशा मार्फत जनस्वास्थ्य प्रवर्द्धनमा समर्पित व्यक्तित्व हुनुहुन्छ।
उहाँले भारतको जिवाजी विश्वविद्यालय, ग्वालियरबाट नर्सिङ विषयमा स्नातकोत्तर तथा AIIMS, नयाँ दिल्लीबाट नर्सिङ विषयमा स्नातक उपाधि हासिल गर्नुभएको छ।
मन्त्रीको जिम्मेवारी सम्हाल्नुअघि उहाँले विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलमा प्राध्यापक (लेक्चरर) तथा क्लिनिकल नर्सिङ प्रशिक्षकका रूपमा अध्यापन एवं प्रशिक्षणको जिम्मेवारी निर्वाह गर्नुभएको थियो। साथै, कोशी प्रदेश नेपाल प्रहरी श्रीमती संघ र आसरा सुधार केन्द्र, धरानको स्वास्थ्य सेवा र सामाजिक क्षेत्रमा समेत सक्रिय योगदान पुर्याउनुभएको छ।
नर्सिङ तथा जनस्वास्थ्यका क्षेत्रमा उहाँको शैक्षिक र अनुसन्धानात्मक योगदान उल्लेखनीय रहेको छ। ७ अगस्ट १९८७ जन्मिनुभएकी माननीय मेहता नेपाली, अङ्ग्रेजी, मैथिली तथा हिन्दी भाषामा दक्ष हुनुहुन्छ। नर्सिङ शिक्षा, क्लिनिकल अभ्यास, अनुसन्धान र सार्वजनिक सेवामा हासिल गरेको अनुभवका आधारमा उहाँ गुणस्तरीय स्वास्थ्य सेवा विस्तार, स्वास्थ्य प्रणालीको सुदृढीकरण तथा जनस्वास्थ्य प्रवर्द्धनप्रति प्रतिबद्ध रहँदै नेतृत्व प्रदान गर्दै आउनुभएको छ।